प्रतीक शर्मा लामिछानेको अध्यक्षतामा सामाजिक कार्यकर्ता संघ नेपाल (SWAN) को नयाँ कार्यसमिति चयन
काठमाडौं, चैत्र ३० – सामाजिक कार्यकर्ता संघ नेपाल (Social Worker’s Association Nepal – SWAN) को पाँचौं महाधिवेशन तथा वार्षिक साधारण सभा २०८१ चैत्र ३० गते सम्पन्न भएको छ। महाधिवेशनबाट त्रिभुवन विश्वविद्यालयका सामाजिक कार्य विषयका उपप्राध्यापक तथा विद्यावारिधि तहका विद्यार्थी प्रतीक शर्मा लामिछाने संघको अध्यक्षमा निर्वाचित भएका छन्।
संघको उपाध्यक्षमा त्रिभुवन विश्वविद्यालयकै उपप्राध्यापक सरोज गिरी चयन भएका छन्। पूर्ण लोकतान्त्रिक विधिबाट समावेशी कार्यसमिति चयन गरिएको महाधिवेशनमा महासचिवमा सुदीप लामा वाइवा, सचिवमा प्रगति खड्का र कोषाध्यक्षमा राजेशमान सिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
सदस्य पदमा सुनिता बिसुन्खी र अनिमा श्रेष्ठ निर्वाचित भएका छन्। सात सदस्यीय नयाँ कार्यसमिति सन्तुलित र समावेशी प्रतिनिधित्वमा आधारित रहेको बताइएको छ।
महाधिवेशन सेन्ट लरेन्स कलेजको प्रांगणमा संघकी निवर्तमान अध्यक्ष सुकृता राईको अध्यक्षता र संस्थापक अध्यक्ष डा. डिल्लीराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। निर्वाचन अधिकृत सबिन न्यौपाने र सदस्य गौतम धिमालले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए।
सामाजिक कार्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका पेशेवर सामाजिक कार्यकर्ताहरूको साझा संस्था SWAN, अन्तर्राष्ट्रिय संघ International Federation of Social Workers (IFSW) को नेपालस्थित आधिकारिक संस्था हो।