उदयपुर
केसब बराल
आवाज मिडिया HD
५ जेष्ठ २०८२
वडाध्यक्ष राउतले गरे नशामा दुर्व्यवहार : निर्दोष युवामाथि दादागिरी, प्रहरीमाथि पनि गालीगलौज
बेल्टार, जेठ ५ — चौदण्डीगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकाश राउत फेरि एकपटक विवादको केन्द्रमा परेका छन्। जेठ ३ गते राति बियरको नशामा चुर भएका राउतले स्थानीय युवामाथि दुर्व्यवहार मात्र होइन, पछि प्रहरीसमक्ष उल्टै उजुरी दर्ता गराउँदै दादागिरी प्रदर्शन गरेका छन्।
स्रोतका अनुसार, एक देवाली कार्यक्रममा सहभागी भएपछि नजिकैको पसलमा बसेका राउतले राति करिब ११ बजे सामान किन्न आएका दुई स्थानीय युवालाई “खाते” भन्दै अपमानजनक शब्द प्रयोग गरे। एक्कासी भएको यस्तो व्यवहारले स्थिति तनावपूर्ण बनेको थियो।
विवादपछि वडाध्यक्षले उल्टै इलाका प्रहरी कार्यालय बेल्टारमा ती युवाविरुद्ध अभद्र व्यवहारको आरोप लगाउँदै उजुरी दिए। तर अनुसन्धानका क्रममा युवाहरू निर्दोष प्रमाणित भएपछि आइतबार साँझ रिहा गरियो।
राउतले उनीहरूलाई रिहा गरिएको थाहा पाएपछि छिमेकीको घरसम्म गुहार्नेगरी चिच्याउँदै प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। स्थानीय बासिन्दाहरूले घटनालाई निरन्तर बढ्दो जनप्रतिनिधिको अहंकार र गैरजिम्मेवार व्यवहारको ज्वलन्त उदाहरण भनेका छन्।
यसअघि पनि अवैध गिट्टी कारोबार, पत्रकारमाथिको दुर्व्यवहार र जनतामाथिको अपमानजनक बोलीका कारण राउत आलोचनाको घेरामा रहँदै आएका थिए। स्थानीय तहको जिम्मेवारी सम्हाल्ने व्यक्तिबाट यस्तो व्यवहारले शासनप्रणालीप्रतिको जनआस्था कमजोर बनाइरहेको आवाजहरू उठिरहेका छन्।