राजनीतिक भुमरीमा राष्ट्र: राजतन्त्र वा गणतन्त्र?
केशब बराल
मिति: २०८१ साल चैत्र १४
काठमाडौ _ राजनीतिक परिदृश्यले कहिलेकाहीं समयको एउटा यस्तो मोड देखाउँछ, जहाँ विगतका अनुभवहरूसँग वर्तमानको तुलना गर्दै भविष्यको बाटो कोर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा राजतन्त्र र गणतन्त्र दुवैको शासन प्रणाली भोगेर आएको जनता अहिले कुन विकल्प सही थियो भन्ने गम्भीर सोचमा छन्।
राजतन्त्र: इतिहासको गौरव कि निरंकुशताको अवशेष?
नेपालको इतिहासमा राजतन्त्रले झन्डै २५० वर्ष शासन गर्यो। पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणदेखि राजा महेन्द्रको ‘निर्दलीय’ पञ्चायती व्यवस्थासम्म विभिन्न मोडमा राजतन्त्रले मुलुकलाई अघि बढाउने प्रयास गर्यो। तर समयक्रममा प्रजातान्त्रिक चेतना बढ्दै जाँदा २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो।
तर अहिलेको राजनीतिक अवस्था हेर्दा, जनतामा निराशा छ। जब जब सरकार असफल देखिन्छ, जनताको ध्यान स्वतः राजतन्त्रतर्फ जान्छ। धेरैले भन्छन्— ‘राजाले शासन गरेको भए यस्तो अवस्था आउने थिएन।’ यो तर्क के सही हो?
गणतन्त्र: जनताको शासन कि पार्टीहरूको एकाधिकार?
गणतन्त्रको मुलभूत धारणा जनताको सर्वोच्चता हो। तर के नेपालमा साँचो अर्थमा गणतन्त्र स्थापित भयो? राजनीतिक दलहरूबीचको अनावश्यक द्वन्द्व, अस्थिर सरकार, भ्रष्टाचार, र सुशासनको अभावले गर्दा जनताले गणतन्त्रलाई सोचेअनुसार अनुभूति गर्न सकेका छैनन्।
गणतन्त्र आएपछि नेताहरू जनता भन्दापनि आफू र आफ्नो गुटको स्वार्थमा लिप्त भए। शासन व्यवस्था जति परिवर्तन भए पनि जनताको अवस्था उस्तै रहनु गणतन्त्रप्रति नै प्रश्न उठाउने अवस्था आएको छ।
के गर्ने त?
अबको उत्तर राजतन्त्रमा फर्किनु होइन, न त गणतन्त्रको नाममा सत्ताको दोहन गरिरहनेहरूको पक्षपोषण नै हो। साँचो लोकतान्त्रिक मूल्य स्थापित गर्न सक्ने नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो।
जनताले कसैप्रति भावनात्मक मोह राखेर होइन, विवेकले सोचेर सही प्रणाली रोज्नुपर्छ। व्यवस्थाभन्दा बढी महत्वपूर्ण कार्यशैली हो। चाहे जुनसुकै शासन होस्, जबसम्म नीति, नेतृत्व, र नियत सुध्रिन्न, जनताको अवस्था उस्तै रहन्छ।
अन्ततः प्रश्न गणतन्त्र कि राजतन्त्र होइन जनताको वास्तविक अधिकार, सुशासन, र विकासको हो। त्यसैले व्यवस्थाभन्दा राम्रो शासन कसरी सम्भव छ भन्ने बहस गर्नु नै अहिलेको मुख्य आवश्यकता हो।
धन्यवाद !!