
यस अवसरमा कुलपति राईले प्रतिष्ठानबाट प्रकाशित मगरभाषाको साहित्यिक पत्रिका ‘मिक’को विमोचन गर्दै समावेशी ढङ्गबाट सम्पूर्ण भाषाभाषीको स्वामित्वबोध हुने गरी प्रज्ञा–प्रतिष्ठानले काम गरिरहेको बताएका छन् । उनले मगरभाषाको साहित्यिक पत्रिका मिक जस्तै तामाङ, राई र गुरुङलगायतका ओझेलमा परेका विभिन्न मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी स्वागत मनतव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कुष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै मगर भाषा, साहित्य हामी सबैको सम्पदा भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यको उत्थान गर्नमा प्रतिष्ठान लागिपरेको बताए । क्रमशः सम्पूर्ण मातृभाषीको साहित्य सिर्जनालाई उच्च प्राथमिकता दिने बताउँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरे ।
यस कार्यक्रममा मिक पत्रिकाको परिचय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीमगरले गरेका थिए ।
जीवनप्रवेश रोकामगरले ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए गर्नुभएको थियोे ।
प्रस्तुत ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्रमाथि पूरक सुझाव डा. टीपी धमला, कर्णबहादुर बुढामगर, नन्दबहादुर घर्तीमगर, सुमित्रा बुढामगर, गौबहादुर आलेमगर, गोपाल पुनमगर र गुप्तबहादुर रानामगरले धारण राखेका थिए ।
यस कार्यक्रममा वाम्बुले राई भाषाका कवि एलिना वाम्बुले राई, गुरुङ भाषाका कवि छम गुरुङ र रानाथारू भाषाका कवि रोहित रानाथारूले आआफ्नो मातृभाषामा कविता वाचन गरेका छन् ।
यसैगरी ‘मिक’का प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी, कार्यकारी सम्पादकमा प्रज्ञासभा सदस्य डा. विष्णुकुमार सिञ्जालीमगर, सम्पादक मण्डलमा जीवनप्रवेश रोकामगर, जगबहादुर बुढामगर, मनकुमारी ठाडामगर (मनु), हिरामती रानामगर र हेमा आलेमगर ‘बोगी’ तथा सल्लाहकारमा प्रा.डा. केशरजङ बरालमगर, लोकबहादुर थापामगर र कर्णबहादुर बुढामगर रहेका छन् । यस कार्यक्रमको उद्घोषण तथा सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका छन् ।