कानुनले अपराध भने पनि , समाजले अझै छोडेन छुवाछुत घोषणामै सीमित, व्यवहारमा परिवर्तनको चुनौती !
आवाज मिडिया HD
मिति २०८३/०१/२७
उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका ले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यसहित “जातीय विभेद तथा छुवाछुत मुक्त पालिका घोषणा कार्यान्वयन अभियान” सुरु गरेको छ । “हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता : जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका” भन्ने मूल नारासहित बेल्टार बजारस्थित बसपार्कमा आयोजित बृहत् कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख कालुमान लामा ले चौदण्डीगढीलाई औपचारिक रूपमा छुवाछुतमुक्त पालिका घोषणा गर्दै अब घोषणालाई व्यवहारमा उतार्ने दिशामा नगरपालिका दृढतापूर्वक अघि बढ्ने बताएका छन । संविधानले जातीय विभेद तथा छुवाछुतलाई कानुनी अपराधका रूपमा स्पष्ट रूपमा परिभाषित गरिसकेको अवस्थामा पनि समाजमा अझै विभेदका घटना भइरहनु गम्भीर सामाजिक विडम्बना भएको भनाइ थियो ।

कार्यक्रममा सहभागी दलित अधिकारकर्मी तथा त्रियुगा नगरपालिका का उपप्रमुख महेश्वरी राई लगायत वक्ताहरूले कानुन बने पनि सामाजिक चेतनाको अभावका कारण दलित समुदायले अझै अपमान, विभेद र बहिष्करण भोग्नुपरेको धारणा थियो । उनीहरूले छुवाछुत अन्त्य केवल नारामा सीमित नभई व्यवहार, सोच र सामाजिक संरचनामै परिवर्तन आउनुपर्नेमा जोड दिएका छन ।

नगर स्तरीय दलित समन्वय समिति चौदण्डीगढी नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष भिम परियार को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जातीय विभेद अन्त्यसम्बन्धी सचेतनामूलक सन्देश, सामाजिक एकताको आवश्यकता र समान अधिकार सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमको एक प्रतीकात्मक सन्देशस्वरूप दलित अभियन्ताहरूले सहभागीहरूलाई खिर पकाएर खुवाएका थिए । सामाजिक सद्भाव, सहअस्तित्व र समानताको भावनालाई व्यवहारमै स्थापित गर्न यस्तो अभियानले निरन्तरता पाउनुपर्ने सहभागीहरूको भनाइ थियो ।










