आवाज मिडियाHD
सम्बादाता
विकास र सामाजिक सुरक्षालाई सँगसँगै अघि बढाउँदै चौदण्डीगढी, १ अर्ब ३७ करोडभन्दा बढीको बजेट स्वीकृत!

उदयपुर, असार ०९ — चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार निर्माणदेखि विपन्न वर्गको सामाजिक सुरक्षासम्मका कार्यक्रमलाई समेट्दै १ अर्ब ३७ करोड ९ लाख ५ हजार २१२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
२०औँ नगरसभाबाट पारित बजेटअनुसार नगरपालिकाले चालु खर्च, प्रशासनिक व्यवस्थापन तथा सशर्त अनुदानका लागि ९१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ भने विकास निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि ४५ करोड २४ लाख ५ हजार २१२ रुपैयाँ छुट्याइएको छ।
आगामी वर्ष नगरभित्रका संघीय तथा प्रदेश सरकारबाट प्राथमिकतामा नपरेका सडकहरूलाई बहुवर्षीय योजनामार्फत कालोपत्रे गरिने भएको छ। यससँगै प्रत्येक वडामा १५ किलोमिटरका दरले कुल १५० किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नतिको काम अघि बढाइनेछ।
खानेपानी सेवाको पहुँच विस्तारका लागि २ करोड रुपैयाँ छुट्याइएको नगरपालिकाले निर्माणाधीन १५ शैयाको आधारभूत नगर अस्पताल भवन आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। वडा नम्बर ५ को सुन्दरपुर स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्ने योजना पनि बजेटमा समेटिएको छ।
सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै नगरपालिकाले आर्थिक रूपमा कमजोर मुसहर समुदायका परिवारलाई प्रति परिवार ३ हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका परिवारलाई ५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिनेछ। विपन्न नागरिकको सदगत तथा काजक्रिया व्यवस्थापनका लागि समेत बजेट व्यवस्था गरिएको छ।
दीर्घरोगबाट पीडित मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार रुपैयाँ उपचार सहायता पाउँदै आएको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित किसानले तिर्नुपर्ने कृषि विद्युत्को ५ प्रतिशत अतिरिक्त भ्याट नगरपालिकाले नै व्यहोर्ने भएको छ। साथै, कृषि हाटबजार निर्माण, खरबुजा खेती विस्तार, बीउ अनुदान, प्राङ्गारिक खेती प्रवर्द्धन तथा कृषि उपकरण वितरणका कार्यक्रम सञ्चालन गरिने भएको छ!
शिक्षा क्षेत्रमा नगर शिक्षक नियुक्तिदेखि विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ भने बाल शिक्षक, विद्यालय सहयोगी तथा सामुदायिक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ। वडा नं. ५ र ९ मा सञ्चालित मदरसाले समेत नगरपालिकाबाट अनुदान पाउने भएका छन्।
नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई समान महत्व दिँदै आगामी वर्ष समग्र विकासलाई गति दिने लक्ष्य लिएको जनाएको छ।










