एक करोड बजेटको विकास परियोजना: चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ र ६ को पूर्वाधार सुधारमा!
उदयपुर केसब बराल
चौदण्डीगढी नगरपालिका वडा नम्बर –६ र ८ , बेल्टार क्षेत्रमा पूर्वाधार सुधारका लागि संघीय सांसद तथा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय उपाध्यक्ष माननीय सुशिला श्रेष्ठ र गणेश राई को पहलमा ल्याइएको रु १ करोडको संसद विकास परियोजना कार्यान्वयनको चरणमा पुगेको छ
यस योजनाअन्तर्गत बेलबोट रिसोर्टदेखि उत्तर ४५० मिटर सडक कालोपत्रे गरिनुका साथै ढेढु खोल्सीमा ५ मिटरको कुल्भर्ट (culvert) र माथिल्लो खोल्सीमा कजवे (causeway) निर्माण गरिनेछ। यो परियोजना सम्पन्न भएपछि स्थानीय यातायात सुविधा सहज हुनुका साथै आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
गत माघ ३ गते (२०८१/१०/०३) आयोजित विशेष भेटघाट कार्यक्रममा माननीय सुशिला श्रेष्ठ प्रमुख अतिथि र अञ्जना राईको अध्यक्षतामा परियोजनासम्बन्धी छलफल भयो। कार्यक्रममा परियोजनाका प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधि, कन्ट्याक्ट् बि एण्ड बि निमार्ण सेबा स्थानीय सरकारका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। श्रेष्ठले योजनाको गुणस्तरीय कार्यान्वयन र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई निगरानी गर्न आह्वान गरिन्।
यस परियोजनाले स्थानीयवासीहरूलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले वडा अध्यक्ष तथा स्थानीयहरूले कुशल, निडर र इमानदार नेतृका रूपमा सुशिला श्रेष्ठ र गणेश राई लाई धन्यवाद व्यक्त गरे। उनीहरूले क्षमतामुलक समाज निर्माणको योद्धाको रूपमा श्रेष्ठको नेतृत्वलाई सराहना गर्दै आगामी दिनमा पनि विकासका योजनाहरू निरन्तर अघि बढ्ने अपेक्षा व्यक्त गरे।