उदयपुर बेल्टार भदौ २७
उदयपुर जिल्ला निर्वाचन क्षेत्र न. १ प्रदेश ( क) बाट निर्बाचित राजन किराँती कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापति बन्ने निस्चित भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा उदयपुर निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद किराँतीको मात्र एकल उम्मेदवारी परेपछि उनी सभापति बन्ने निस्चित भएको हो । पराजुलीका अनुसार प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबाट ३–३ र माओवादी केन्द्रबाट १ जनाले मनोनयन दर्ता गरेका छन् ।
यसअघि सत्तारुढ कांग्रेस र एमालेबीच प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापतिमा ३–३ वटा समितिको सभापति लिने र सामान्यता बिपक्षी दललाई दिने परम्परा रहेको सार्वजनिक लेखा समितिको सभापति माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सोही बमोजिम नेकपा एमालेका सांसद होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् । यस्तै नेपाली कांग्रेसका सांसद गयानन्द मण्डलले सामाजिक विकास समिति, खगेश्वरी पौडेलले सुशासन तथा योजना समिति र विनोद राईले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा माओवादीका किराँतीको एकल उम्मेदवारी परेको छ ।
प्रदेश सभा सचिवालयले समितिको सभापति पदमा उम्मेदवारी दिन आज विहिबार बेलुका ५ बजेसम्मको समय तोकेर सूचना प्रकाशन गरिसकेको छ ।सात वटै समितिको सभापतिमा एकल उम्मेद्वारी परेको बताउदै प्रदेशसभा सचिवालयका सचिव पराजुलीले भोली शुक्रवार दिउँसो २ बजे सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण हुने जानकारी दिएका छन् ।