कालोसूचीमा परेका व्यक्तिलाई टिकट! उदयपुर–२ को परिणामले उठायो दलको नैतिकता माथी प्रश्न?
उदयपुर
आवाज मिडिया HD
2082/11/28
उदयपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङको विषयमा गम्भीर प्रश्न उठ्ने तथ्य सार्वजनिक भएको छ। कर्जा सूचना केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालोसूचीमा रहेको देखिएको हो। उक्त कम्पनीमा तामाङसँगै लीला राई पनि सञ्चालकका रूपमा रहेको उल्लेख छ।
भ्रष्टाचारविरुद्ध चर्का नारा लगाउँदै राजनीतिमा आएको दलका उम्मेदवार स्वयं आर्थिक अनुशासन उल्लंघनको कारण कालोसूचीमा परेको तथ्य बाहिरिनु विडम्बनापूर्ण मानिएको छ। जनतालाई सुशासन र पारदर्शिताको सपना देखाउनेहरूले आफ्नै उम्मेदवारको पृष्ठभूमि जाँच गर्न नसक्नुले राजनीतिक नैतिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तामाङले १४ हजार ८०२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी अम्बरबहादुर रायमाझी (एमाले) ले ७ हजार ६४८ मत प्राप्त गरेका थिए। निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि मात्र तामाङको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको विवरण बाहिर आउनुले उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक दलहरूको जवाफदेहिता दुबैमाथि थप शंका पैदा गरेको छ।
यस विषयमा सम्बन्धित निकायले आवश्यक अध्ययन र प्रक्रिया अघि बढाउने जनाएको भए पनि अब प्रश्न स्पष्ट छ—कालोसूचीमा परेको व्यक्ति संसदमा पुग्दा सुशासनको भाषण कत्तिको विश्वसनीय रहन्छ? राजनीतिमा परिवर्तनको नारा दिनेहरूले पहिले आफ्नै घरभित्रको जिम्मेवारी र पारदर्शिता प्रमाणित गर्नुपर्ने दबाब झन् बढेको देखिन्छ!!













