बेलायतको एउटा घर, एउटा प्रश्न र ऐतिहासिक जवाफ
नेपालीपनको परिभाषा
आवाज मिडिया /२०८३/०१/२८
डा. मोहम्मद मोहसिनको विचार: सहिष्णुता, राष्ट्रियता र नेपालीपनको जीवन्त सन्देश
काठमाडौं — धार्मिक पहिचान र राष्ट्रिय चेतनाबीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने बहस आज पनि विश्वभर जारी छ। तर नेपालले धेरै दशकअघि नै यस्ता प्रश्नको गहिरो र अर्थपूर्ण उत्तर पाइसकेको उदाहरणका रूपमा डा. Mohammad Mohsin को एक चर्चित भनाइ आज पुनः सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।
“म धर्मले मुसलमान हुँ, त्यसैले पोर्क खाँदिनँ। तर राष्ट्रियताले हिन्दु हुँ, त्यसैले बिफ खाँदिनँ।”
यो एक वाक्य मात्र होइन, यो नेपालको बहुसांस्कृतिक समाज, सहिष्णुता र आपसी सम्मानको गहिरो दार्शनिक अभिव्यक्ति । काठमाडौंको बागबजारमा जन्मिएका डा. मोहसिनले बेलायतमा अध्ययनको क्रममा एक विदेशी परिवारमा बस्दा व्यक्त गरेको यो विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ!
उक्त प्रसङ्ग अनुसार, घरधनीले उनलाई धार्मिक खानपानबारे प्रश्न गर्दा उनले स्पष्ट रूपमा आफ्नो पहिचान धर्म र राष्ट्र दुवैसँग जोडिएको रूपमा व्याख्या गरेका थिए। उनका अनुसार, धर्मले व्यक्तिगत आस्था निर्धारण गर्छ भने राष्ट्रियता सामाजिक सहअस्तित्व र साझा संस्कारको आधार निधार्ण ।
डा. मोहसिन केवल एक विचारक मात्र थिएनन्, उनी नेपालको शैक्षिक र राजनीतिक इतिहासमा पनि महत्वपूर्ण नाम हुन्। क्षेत्रपाटीको जेपी स्कूलदेखि बम्बई विश्वविद्यालयसम्मको अध्ययन यात्रा पूरा गरेका उनले पञ्चायतकालमा राष्ट्रिय शिक्षा समितिको सदस्य सचिवदेखि पर्यटन मन्त्री र पछि राष्ट्रिय सभाको अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए।
उनको जीवन दृष्टिकोणले एउटा महत्वपूर्ण सन्देश दिएको छ समाजमा विविधता हुनु कमजोरी होइन, शक्ति हो। फरक धर्म, संस्कार र परम्पराबीच पनि साझा राष्ट्रिय पहिचान निर्माण गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण उनको विचारमा देखिन्छ।
आजको समयमा जब सामाजिक विभाजन, धार्मिक असहिष्णुता र ध्रुवीकरणका घटनाहरू बढिरहेका छन्, डा. मोहसिनको यो भनाइ अझ बढी सान्दर्भिक बन्दैगएको छ। यसले केवल सहिष्णुताको पाठ मात्र पढाउँदैन, राष्ट्रिय एकताको आधार नै सम्मान र समझदारी हो भन्ने चेतना जगाउँछ।
वि.सं. २०६८ सालमा ७७ वर्षको उमेरमा निधन भएका डा. मोहसिनको यो विचार आज पनि नेपाली समाजमा सकारात्मक ऊर्जा र प्रेरणाको स्रोतका रूपमा जीवित छ। यो प्रसङ्गले स्पष्ट देखाउँछ !! विचार कहिले मर्दैन, विचारले समाज बदल्छ।
अन्ततः, डा. मोहसिनको सन्देश आजको पुस्ताका लागि एउटा ऐना हो जहाँ धर्म आस्था हो, तर राष्ट्रियता साझा पहिचान हो। यही सन्तुलनमा नै समावेशी, शान्त र सभ्य समाजको निर्माण सम्भव छ।










