आवाज मिडिया HD सम्बादाता
उदयपुर
2082/10/1
चौदण्डीगढी नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। पौष १९ गतेदेखि पौष ३० गतेसम्म चौदण्डीगढी र त्रियुगा नगरपालिकाका विभिन्न वडामा मोतिबिन्दु पहिचानका लागि छनौट शिविर सञ्चालन गरिएको थियो।
छनौट शिविर अवधिमा कुल ३,८९१ जना आँखाका बिरामीहरूको जाँच गरिएको थियो। जाँचबाट ५५९ जना मोतिबिन्दुका बिरामी पहिचान गरिएका मध्ये ४३८ जना बिरामीहरूको विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा आएको टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिएको हो।
उक्त शिविर चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

शिविर सम्पन्न भएपछि नगर प्रमुख कालुमान लामाले शल्यक्रिया गराएका बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज बिहान तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीलाई विदाई गरेका थिए।












