बेल्टार–धाप्लाङ्ग सिधा सडक स्तरोन्नतिका लागि नगरप्रमुखको निर्देशन, स्थलगत निरीक्षण सम्पन्न!!
आवाज मिडिया HD
उदयपुर ।
२०८२ माघ ०६
बेल्टार–बसाहा उद्योग वाणिज्य संघले बेल्टार–धाप्लाङ्ग सिधा सडक मार्ग सञ्चालनका लागि आवश्यक स्तरोन्नतिबारे चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामासँग औपचारिक भेट गरी माग प्रस्तुत गरेको छ। संघको मागलाई गम्भीरतापूर्वक लिँदै नगरप्रमुख लामाले चौदण्डीगढी नगर योजना आयोगलाई तत्काल प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिएका छन्।
नगरप्रमुखको निर्देशनअनुसार नगर योजना आयोगका पदाधिकारी, प्राविधिक टोली तथा बेल्टार–बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व अध्यक्ष र स्थानीय व्यवसायीहरू सम्मिलित संयुक्त टोलीले प्रस्तावित सडक खण्डको हिजो स्थलगत निरीक्षण गरेको छ। निरीक्षणको उद्देश्य सडकको वर्तमान अवस्था मूल्यांकन गर्दै आवश्यक संरचनागत सुधारको खाका तयार गर्नु रहेको बताइएको छ।
करिब १९ किलोमिटर दूरी रहेको बेल्टार–धाप्लाङ्गघाट सडक खण्डको निरीक्षणका क्रममा विभिन्न स्थानमा तत्काल मर्मत तथा स्तरोन्नति आवश्यक रहेको निष्कर्ष निकालिएको छ। विशेषगरी विरेन्द्र बजार–सिम्ले सडक खण्डमा व्यापक मर्मत आवश्यक देखिएको छ भने बोप्लुङ्गदेखि ढुङ्ग्रे खोलासम्म सडक मोड सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
त्यसैगरी, ढुङ्ग्रे खोलामा एकवटा पक्की पुल तथा त्रियुगा खण्डमा तीनवटा कल्भर्ट वा साना पुल निर्माण गर्नुपर्ने प्राविधिक सुझाव दिइएको छ। यी संरचना निर्माण भएमा सडक वर्षायाममा समेत सहज र सुरक्षित रूपमा सञ्चालन गर्न सकिने विश्वास लिइएको छ।
यो सडक मार्ग निर्माण सम्पन्न भएपछि खोटाङ जिल्लालाई मदन भण्डारी राजमार्गसँग जोड्ने सबैभन्दा छोटो र प्रभावकारी मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। हाल धाप्लाङ्ग पुलदेखि साउने ५ किमि, साउनेदेखि गाईघाट २२ किमि र गाईघाटदेखि बेल्टार २२ किमि गरी जम्मा ४९ किमि दूरी तय गर्नुपर्ने अवस्था छ।
तर बेल्टार–धाप्लाङ्ग सिधा सडक सञ्चालनमा आएपछि करिब ३० किमि दूरी घट्ने अनुमान गरिएको छ, जसले समय, इन्धन र लागतमा उल्लेख्य बचत गराउनेछ। यसले यातायात प्रणालीलाई मात्र होइन, व्यापारिक आवागमनलाई समेत तीव्र बनाउने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा व्यवसायीहरूले उक्त सडक मार्ग सञ्चालनमा आएपछि व्यापार, पर्यटन, यातायात तथा समग्र आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यो परियोजना क्षेत्रीय विकासको मेरुदण्ड सावित हुने भन्दै शीघ्र कार्यान्वयनको माग गरेका छन।










